बर्जु,। सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मुस्लिम टोल देखि विराटनगर जाने मुख्य सडक सम्म हिलाम्मे भएको कारण स्थानीयले सास्ती खेप्नु परेको छ ।
गाउँपालिका लगायत वडामा निर्वाचित जनप्रतिधिहरु फोहरी राजनीतिमा लागेको कारण स्थानीयहरुले सास्ती भोग्नु परेको हो ।
जनप्रतिनिधिहरु विकास निर्माणको कार्यलाई लत्याएर कसरी बढी भन्दा बढी असुली गर्न सकिन्छ भन्नेतर्फ उन्मुख भएका कारण स्थानीयहरुले वर्षा याममा सास्ती खेप्नु परेको स्थानीयहरुको आरोप छ ।
गाउँपालिकाको वडा नं.५ मा पर्ने मुस्लिम गाउँमा सडक जीर्ण भई घुँडासम्म पानी जमेर सडक हिलाम्मे भएको कारण स्थानीयहरुलाई आवतजावत गर्नमा समस्या भएको स्थानीय ईन्जिनियर सदाम अन्सारीले गुनासो पोखे ।
वडा नं.५ मुस्लिम टोलबाट विराटनगर जाने मुख्य सडक सम्मको बाटो हिँड्नै नसक्ने अवस्था छ । सवारी साधनको कुरै छाडौँ पैदल हिँड्न समेत समस्या रहेको अन्सारीको भनाइ छ ।
विगत तीन महिना भन्दा अगाडिदेखि नै सडक विग्रेको र वडाध्यक्षलाई पटक–पटक सडक मर्मतको लागि आग्रह गर्दा पनि ध्यान नपु¥याएको स्थानीयहरुको आरोप छ ।
वडाध्यक्ष अहिले जनताको सेवा भन्दा पनि प्रचार बाजीमा लागेको कारण जनताहरुले सास्ती खेप्नु परेको उनीहरुको भनाइ छ । वडा नं. ५ मा के कारण जनप्रतिनिधिहरुको ध्यान पुग्न नसकेको उनीहरुको भनाइ छ ।
जनप्रतिनिधिहरु त्यहाँ विकास गर्नुभन्दा पनि भोट मात्रै असुल्ने बैंक बुझेको कारण पनि त्यहाँ विकास हुन नसकेको स्थानीयहरुको आरोप छ ।