काठमाण्डौ,। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छँदा पनि रामचन्द्र पौडेल र शेखर कोइरालाले सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
आज बुधवार पनि बिहानैदेखि पटक–पटक छलफल भए तर अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का आकाङ्क्षी सशांक कोइराला पछि हट्न सक्ने सङ्केत गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहमध्ये दुई जना नै टसमस नभएपछि उम्मेदवारको नाम अन्योलमै रहेको हो ।
पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।
आजको बैठकमा वरिष्ठ नेता पौडेल केही समय बसेर बाहिरिनुभएको थियो । चार जनामध्ये आफू पनि सभापतिको उम्मेदवार भएकाले बैठकको निष्कर्षलाई स्वीकार्ने नेता पौडेलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो ।
हिजो मङ्गलवारको बैठकले भने आज बेलुकासम्म साझा उम्मेदवारको सूची सार्वजनिक गर्ने वरिष्ठ नेता पौडेलले दाबी गर्नुभएको थियो । यद्यपि अहिलेसम्म यो पक्षले सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
आज चाक्सीबारीको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासका लागि भोलि बिहीवार बिहान ८ बजे अर्को बैठक बसेर निस्कर्ष निकाल्ने जानकारी दिनुभयो ।