इनरुवा,। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस आगामी निर्वाचनमा एक्लै चुनाव लडेर बहुमत ल्याउने बताएका छन् ।
शनिबार सुनसरीकाे सदरमुकाम इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताउँदै एक्लै चुनाव लडेर बहुमत ल्याउने बताएका हुन् ।
नेता कोइरालाले भनेका छन्, ‘अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन हुदैन । अब काँग्रेस एक्लै चुनाव लड्छ ।
काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।’
उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सकेमा निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको पनि बताए ।
पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।उनले ‘सभापतिले म सबैको हुँ’ भनेपनि विश्वासको वातावरण बनिनसकेको दाबी गरे ।
नेता कोइरालाले भने, “सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनु पर्यो । देखिने गरी हुनुपर्यो, न्यायसङ्गत हुनुपर्यो ।”
आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसदमार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गरे ।
नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ काँग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिए ।