नसीम अन्सारी
इनरुवा,। नेपाल-भारतबीच खुला सीमाको फाइदा उठाउँदै साना हतियारको कारोबार गर्नेहरूको गिरोह सुनसरीमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
भारतीय हतियार व्यापारीको सहयोगमा नेपालमा साना हतियार भित्र्याउनेको संख्या बढिरहेकोमा प्रहरीले चिन्ता व्यक्त गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अवधिमा ६ थान पेस्तोल र एकथान कटुवा पेस्तोलसहित सात जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले ६ थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ वटा गोली र कटुवा पेस्तोलमा लाग्ने एउटा थ्रिनटथ्री गोली पनि बरामद गरेको छ ।
पछिल्लो एक महिनामा सुनसरीमा यति धेरै साना हतियार बरामद हुनु र दर्जन बढी पक्राउ पर्नुलाई प्रहरीले तिनै हतियार देखाएर व्यापारी व्यवसायीलाई धम्काएर पैसा अशुल्ने र स्थानीय प्रदेश र केन्द्रको सम्भावित चुनावमा प्रयोग गर्ने नियत देखिएको अनुमान गरेको छ ।
गत बुधबार र बिहीबार मात्रै प्रहरीले इनरुवाबाट चार जनालाई पक्राउ गरी २ थान पेस्तोल र त्यसमा प्रयोग हुने चार थान गोली बरमद गर्यो ।
प्रदेश १ का अपराध अनुसन्धान प्रमुखसमेत रहेका संघीय प्रहरी कार्यालय धरानका प्रवक्ता (एसपी) भीम दाहालले भारतसँग सीमा जोडिएको सुनसरीमा छोटो समयमै एकपछि अर्को गर्दै साना हतियार र तिनमा प्रयोग हुने गोली र म्यागजिन बरामद हुनुमा प्रहरीको सक्रियता बढेको दाबी गरे ।
‘मुख्य कुरा खुला सिमाना भएकाले नेपालीलाई भारतका हतियार व्यापारीबाट साना हतियार किनेर ल्याउन सहज भएको छ । त्यसरी खुला सिमानाको फाइदा उठाएर साना हतियार ल्याउनेको संख्या बढेमा त्यसले राजनीतिक रुपमा हुने निर्वाचन, आपराधिक गतिविधि र चोरी डकैतीको गतिविधि बढ्छ ।
तर सुनसरी प्रहरीले अहिले सबैभन्दा बढी ‘फोकस’ साना हतियार भित्र्याउनेहरूमा गरेकाले एकपछि अर्को गर्दै पक्राउ र हतियार बरामद भएको हो,’ एसपी दाहालले भने ।
उनले एक महिनाको अवधिमा पक्राउ परेका र उनीहरूबाट बरामद भएका हतियार कुन प्रयोजनका लागि भित्र्याइएका हुन् भनेर स्पष्ट खुलिनसकेको बताए । तर भारतको सीमावर्ती क्षेत्रमा कतै चुनाव भइरहेको र कतै सकिएपछि यता पनि स्थानीय, प्रदेश र केन्द्रको चुनावको तयारी भइरहेको अवस्थामा ती हतियार भित्रनुलाई राम्रो संकेत भने मान्न नसकिने एसपी दाहालले बताए ।
सुनसरीको इनरुवा क्षेत्रमा पेस्तोल गोलीसहित केही व्यक्ती खुलेआम घुमिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका सादा पोसाकका टोलीले हरिनगर गाउँपालिका-७ घुस्की बस्ने २० वर्षीय सविर मिया, ३१ वर्षीय सवरेज मिया, २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका-६ बस्ने २३ वर्षीय फरियाद अन्सारीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी संजयसिंह थापाका अनुसार ती चारैजना २ थान पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ परेका थिए । उनले भने, ‘सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुधबार साँझ र बिहीबार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो ।
इनरुवा-३ महेन्द्र चोकबाट बुधबार साढे ६ बजे सविर मियालाई पक्राउ गरिएको थियो । उनको साथबाट बिएमएम केएफ लेखिएको १ राउण्ड गोलीसहित कटुवा पेस्तोल १ थान र उनले प्रयोग गरेको ज २ प १९४ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।
लगत्तै मियाले नामै किटेर आफूजस्तै अन्य व्यक्तिहरूले पनि पेस्तोल र गोली बोकेर हिँडिरहेको बयान दिएपछि तत्काल प्रहरी परिचालन गरेर सवरेज मिया, सिकन्दर मलाहा र फरियाद अन्सारीलाई १ थान पेस्तोल, तीन राउन्ड गोली, दुई थान म्यागेजिनसहित उनीहरूले प्रयोग गरेको को १८ प ६२२५ र को ६ प १०९ नम्बरका दुई थान मोटरसाइकलसहित पक्राउ गरिएको थियो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भारतीय हतियार व्यापारीहरूले नेपालीहरूलाई साना हतियार सहजै उपलब्ध गराउने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले पुस १४ गते सुनसरीको दुहवी नगरपालिका-३ बाट १ थान कटुवा पेस्तोलसहित इटहरी उपमहानगरपालिका-१२ खनार बस्ने ३४ वर्षीय ‘काउ’ भनिने सुशील साहलाई पक्राउ गरेको थियो । साहले पेस्तोल बोकेर खुलेआम हिँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राति साढे १० बजे दुहवी नगरपालिका-३ बाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार साह यसअघि पनि हात हतियार खरखजाना मुद्दामा कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनलाई पनि प्रहरीले साना हतियारको कारोबारी भएको जनाएको छ ।
यसअघि पुस १२ गते सुनसरीको कोशी गाउँपालिका–१ स्थित बिएस होटलबाट भारतको बिहार अररिया जिल्लाको बसमटीया बस्ने ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अन्सारीलाई प्रहरीले २ थान पेस्तोलसहित पक्राउ गरेको थियो ।
राम र अन्सारी आपराधिक समूहका सदस्य भएको नखुले पनि नेपालका आपराधिक समूहलाई हतियार आपुर्ति गर्ने भूमिकामा सक्रिया रहेको प्रहरीको बुझाइ छ ।
उनीहरूलाई दुई थान पेस्तोलसहित अपारन्ह साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–१ स्थित बिएस होटलबाट पक्राउ गरिएको थियो ।
एसपी सिंहले भने, ‘शंकास्पद अवस्थामा होटलको कोठामा बसिरहेको बेला कोठा खानतलासी गर्दा ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्यागजिन ४ थान, ७.७५ एमएमको तीन राउण्ड गोली बरामद गरिएको थियो ।’
उक्त होटलमा विक्री गर्ने उद्देश्यले नै उनीहरू ‘डिल’ का लागि ग्राहक पर्खेर बसेको प्रहरीको अनुमान थियो । प्रहरीले उनीहरूले प्रयोग गरेको मोबाइल १ थान, विआर ५० के ०१४९ नम्बरको मोटरसाइकल र भारतीय नगद २ हजार रुपैयाँसमेत बरामद गरेको थियो ।
साना हतियारका भारतीय कारोबारी र हतियार किन्ने नेपालका नागरिकहरू लागूपदार्थ प्रयोगकर्तासमेत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
अपराध अनुसन्धान प्रमुख दाहालका अनुसार हालसम्म बरामद गरिएका पेस्तोलमा अमेरिका, इटाली वा चाइनामा बनेको लेखिए पनि ती सबै भारतमै बनेका ‘होममेड’ हुन् । ती होममेड पेस्तोलमा विभिन्न एमएमका गोली प्रयोग हुन्छन् ।
उनले भने, ‘अर्को छ कटुवा पेस्तोल त्यो त झन ‘लोकल मेड’ हो । त्यसमा भने राइफलमा प्रयोग हुने अलिक लामो र ठूलो गोली थ्रिनटथ्री प्रयोग हुन्छ जुन सबैभन्दा घातक हुन्छ । खुला सीमा भएकाले ती सबै सहजै सीमावर्ती क्षेत्रमा किन्न चाहनेले पाउँछन् ।
तर प्रहरीले सक्रियता बढाएर मान्छे पक्राउ र हतियार बरामद गरेकाले भविष्यमा हुनसक्ने मानवीय आपराधिक गतिविधिलाई बेलैमा रोक्न लागि परेको छ ।’