इनरुवा,। सुनसरीको भण्टावारी क्षेत्रमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति र कडा सुरक्षा चेकजाँचका बिच पनि दैनिक ठुलो परिमाणमा भन्सार छलेर चोरी तस्करी हुने गरेको छ ।
भारतको भीमनगर र वीरपुरबाट व्यापारीहरुले खरिद गरी ल्याएका विभिन्न प्रकारका मालसामानहरु सिमानाकाबाट भन्सार राजश्व नतिरी अवैध रुपमा भित्र्याएर भन्सार क्षेत्र वरपर भण्डारण हुने गरेको छ ।
भण्टावारी सिमानाकामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी वलको वोर्डर आउट पोष्ट, नेपाल प्रहरीको सीमा प्रहरी चौकी, हरिपुर र कोशी व्यारेजमा समेत नेपाल प्रहरीको चौकी रहेको छ ।
कोशी व्यारेजमा सुनसरी भन्सार कार्यालय, भाण्टावारीको तीनकुने र बजारमा छोटी भन्सार कार्यालय रहेको छ । ठुलो जनशक्ति सीमा क्षेत्रबाट अवैध रुपमा हुने मालसामानको चोरी तस्करी नियन्त्रणमा परिचालित भएपनि व्यापारीहरुले अवैध मालसामानको ओसार पसार गरी भन्सार नाका वरपर भण्डारण गर्ने क्रम भने वर्षौदेखि रोकिन सकेको छैन ।
यसैबीच भन्सार छली गरी ल्याएर अबैद्य रुपमा घरमा भण्डारण गरेर राखेको अवस्थामा सशस्त्र प्रहरी बल बीओपी भण्टावारीले कोशी ब्यारेज क्षेत्रबाट लाखौ रुपैया मुल्य बराबरको सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक कुमार विष्टका अनुसार कोशी गाउँपालिका वडा नम्बर ८ कोशी ब्यारेज क्षेत्रमा घर भएका रामअवतार नायकको घरमा छापा मारी गर्दा चार लाख रुपैयाभन्दा बढी मुल्यका बिभिन्न खाद्य सामग्रीहरु बरामद भएको हो ।
नायकले भन्सार छलेर भित्र्याएका सामानहरु आफ्नो घरमा भण्डारण गरेर राखेको र त्यहाँबाट अबैद्य सामग्रीलाई बैद्य बनाएर बाहिर बिक्री वितरण गर्ने तथा भारत तस्करी गर्ने कार्यमा संलग्न रहेको सूचनाको आधारमा सशस्त्र प्रहरीले छापामारी गरेको जनाएको छ ।
छापामारीको क्रममा उनको घरबाट ठूलो परिमाणमा चिनी, तेल, मरिच, खाने तेल, छोगडा लगायतका खाद्य सामग्री बरामद भएको थियो । बरामद गरिएका सामग्रीलाई शनिवार नै जिल्ला भन्सार कार्यालय कोशी ब्यारोज बुझाईएको निरीक्षक विष्टले जानकारी दिए ।
स्थानीयहरुका अनुसार कोशी व्यारेज, भण्टावारी र लौकही क्षेत्रमा नेपालबाट तस्करी भई जाने हरियो मटर दाना, मरिच, स्याउ लगायतका मालसमानहरु र भारतबाट तस्करी भएर आउने मालसामानहरुको भण्डारण र कारोवार गर्ने ठुलो गिरोह सक्रिय रहँदै आएका छन ।
सुरक्षा निकायले जतिसुकै कडाई गरे पनि चोरी तस्करी गर्ने व्यापारीहरु भने दिनरात सक्रिय रहदै आएकाले उनीहरुको पछाडि ठुलै शक्ति रहेको स्थानीयहरुको अनुमान छ ।