इनरुवा,। कोशी नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएपछि सशस्त्र प्रहरीद्वारा युवकको शव फेला परेको छ। मृत्यु युवक भारत सुपौलका १९ वर्षीय अमरकुमार मेहता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान कोशी ब्यारेजको १ नम्बर ढोका छेउ नुहाउने क्रममा डुबेर बेपत्ता भएका मेहतालाई खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको थियो ।
खोजी गर्ने क्रममा मेहताको शव बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी लकेश तुम्बाहाम्फेले जानकारी दिए ।
उनकाअनुसार मेहता नदीमा नुहाएर छेउमै रहेको शिव मन्दिरमा जल चढाउने क्रममा थिए । सोही क्रममा नदीमा नुहाउने क्रममा डुबेका उनी त्यस लगत्तै वेपत्ता भएका थिए ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






