विराटनगर,। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कोशी प्रदेशमा सत्ता पक्षले गल्ती दोहोर्याएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा।कोइरालाले अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको बताए।
सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको डा. कोइरालाले बताए । प्रदेश सरकारले न्यायालयको सम्मान नगरेको हो भन्ने प्रश्नमा उनले भने, ‘अदालतले जुन निर्णय गरेको थियो, अस्ति त्यो निर्णय सही निर्णय थियो, फेरि हामीले दोहोर्यायौं सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौं ?
सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई पनि मतदान गराएर विश्वासको मत लिएका थिए । पार्टी र सत्ताको राजनीति फरक हुने बताउँदै उनले सत्ताको राजनीति गलत हुँदा अदालतले सच्याउने बताए ।
‘राज्यसत्ता कमजोर भएको अवस्थामा यस्ता कुराहरु हुँदै जान्छन्’ उनले भने, ‘घटनाहरु घट्दै जान्छन्, हामी गलत काम गर्दै जान्छौं, अनि अदालतले त्यसलाई तिमीहरु गलत छौ भनेर पुष्टि गरिरहन्छ ।’ राज्यसत्ता कमजोर भएपछि न्यायालय सक्रिय हुनु स्वाभाविक हुने उनले बताए ।
कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा पनि सरकार गठन हुन नसक्ने बताउँदै उनले उपधारा ५ मा पुगेपछि सरकार गठन हुने अवस्था देखिएको बताए ।





