विराटनगर,। मोरङको रंगेलीमा दुर्घटना हुँदा एक नाबालकको मृत्यु भएको छ । दुर्घटनामा नाबालककी आमासहित दुई जना घाइते भएका छन् । आमाको अवस्था गम्भीर छ ।
रंगेली नगरपालिका-२ मंगलबारेमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २६२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९४६२ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएर दुर्घटना भएको थियो । बिहीबार दिउँसो २ः४० बजेतिर दुर्घटना भएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुर्घटनामा सुनवर्षी नगरपालिका-४ घर भइ विराटनगर महानगरपालिका-४ कञ्चनबारीमा डेरा गरी बस्ने बबिता राजवंशीका छोरा ३ वर्षीय दीक्षा राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा नाबालक दीक्षा गम्भीर घाइते भएका थिए । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा राति ८ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर नाबालककी आमा अन्दाजी ३० वर्षीया बबिता गम्भीर घाइते भएकी छन् । गोल्डेनबाट बबितालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ । आमा-छोरा मोटरसाइकलको पछाडि सवार थिए ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर कञ्चनबारीका अन्दाजी ४६ वर्षीय दिनेश राजवंशी पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान्य अवस्थाका उनको गोल्डेनमै उपचार भइरहेको छ । दुर्घटना लगत्तै बस र चालक रंगेली-७ का ३८ वर्षीय गंगाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।





