काठमाडौँ,। जनस्वास्थ्य विज्ञहरुले महामारीका बेला तथ्यपरक सूचना र समाचारको पहुँचले सर्वसाधारण नागरिकलाई राहत पुग्ने बताएका छन् ।
महामारीमा मिथ्या सूचना प्रवाह भए ठूलो दुर्घटनासमेत हुन सक्ने भन्दै उनीहरुले महामारीमा सञ्चार क्षेत्रले थप संवेदनशील भएर भूमिका निभाउनुपर्ने बताए ।
नेपालमा कोरोना, डेंगूसहित विभिन्न खालका महामारीले सर्वसाधारण स्वास्थ्य जोखिमबाट गुज्रिरहेका बेला जनस्वास्थ्य विज्ञहरुले यस्तो बेला आमसञ्चार माध्यमबाटै मिथ्या सूचना प्रवाह हुनबाट रोक्नु आवश्यक भएको बताएका हुन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा ट्रिपल मिडिया र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्तरुपमा गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पत्रकारले हरेक सूचना सम्प्रेषण गर्दा समुदायमा पर्ने असरको विषयमा ख्याल गर्नुपर्ने बताए ।
कुनै पनि सूचनाले समुदायमा सकारात्मक र नकारात्मक दुबै असर पार्न सक्छ । खासगरी महामारीका बेला मिथ्या सूचना प्रसारको जोखिम रहन्छ,ु उनले भने, ुत्यसकारण साधारण जनताले बुझ्ने र गलत अर्थ नलाग्ने गरी सूचना सम्प्रेषण हुन आवश्यक हुन्छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले महामारीको समयमा सही र सत्य सुचनालाई तौलिएर मात्रै जनतामाझ पुर्याउन मिडियाले भूमिका निभाउनुपर्ने बताए । स्वास्थ्यसम्बन्धी सूचनाको प्रसार सामान्य समयमै पनि संवेदनशील हुन्छ ।
महामारीका बेला यसबारे झन् जिम्मेवार र संवेदनशील हुनुपर्छ, उनले भने । उनले स्वास्थ्य मन्त्रालय र सन्चार क्षेत्रको सहकार्यबाट मात्रै समाचारमा हुने मिथ्या सूचना र सूचनाको गलत प्रयोगलाई न्यूनिकरण गर्न सकिने बताए ।
स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले जोखिम सञ्चारमा तथ्यपरक सूचना सम्प्रेषण महत्वपूर्ण हुने बताइन् ।
जब कुनै विपत्, प्राकृतिक प्रकोप वा अन्य रोगजन्य संक्रमणका कारण समाज जोखिममा पर्छ, त्यसबेला अरु समयको भन्दा बढी मात्रामा सही सूचना आवश्यक पर्छ । तसर्थ स्थानीय निकाय, जनसमुदाय, संचारकर्मीहरुको बढि भूमिका रहन जान्छ,ु उनले भनिन् ।
मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले जोखिमका बेला भ्रम तथा हल्लाहरु पनि निकै बाहिर आउने गरेको बताए । उनले कोभिडको समयमा फरक-फरक व्यक्तिहरूले आफू अनुकुल सन्देशहरू दिँदा जनतामा नराम्रोसँग भ्रम पैदा भएको बताए ।
कार्यक्रममा मन्त्रालयका विभिन्न पदाधिकारी र पत्रकारहरुले कोभिड-१९ का बेला भएको सूचना प्रवाह र समाचार प्रभावका विषयमा छलफल गरी सिकाई आदान प्रदान गरेका थिए । कान्तिपुर दैनिकबाट





