हिरासतमा बलात्कार प्रकरण: छानबिन गर्न प्रदेश प्रहरीको टोली सप्तरीमा

अवधेशकुमार झा राजविराज,। प्रहरी हिरासतभित्रै महिला थुनुवामाथि बलात्कार भएको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ ।

सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका बेला गत चैतको पहिलो साता ‘आफू प्रहरी अधिकृतबाट बलात्कार भएको र कसैलाई भने २० वर्ष जेलमा सडाइदिने धम्की दिएको’ तात्कालिन अवस्थामा थुनुवामा रहेकी एक महिलाको भनाइ सञ्चारमाध्यममा आएपछि प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रवीण पोखरेल नेतृत्वको पाँच सदस्यीय समितिले घटना छानबिन थालेको हो । पोखरेल नेतृत्वको टोली आइतबार सप्तरी आएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले सञ्चारमाध्यममा आएको विषयमा छानबिन गर्न पोखरेलको नेतृत्वमा टोली गठन गरिएको र अविलम्ब छानबिन गर्न निर्देशन दिइएको बताए ।

‘सञ्चारमाध्यममा आएको विषय अति नै संवेदनशील छ,’ प्रवक्ता श्रेष्ठले कान्तिपुरसित भने,‘सञ्चारमाध्यममा आउनु अगाडि सप्तरी प्रहरीले प्रदेश प्रहरी कार्यालयमा यस कुनै जानकारी गराएको थिएन् ।

मजकुर(माथिल्लो) कार्यालयलाई घटनाबारे जानकारी नदिएकोबारे सप्तरी प्रहरीसँग पनि जानकारी मागिएको छ ।’ प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले बुझ्ने कार्य गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । अविलम्ब वास्तविकता बाहिर ल्याउन सूक्ष्म तरिकाले छानबिन भइरहेको उनले बताए ।

हिरासतमै प्रहरीबाट ‘बलात्कार’

इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहँदा आफूलाई जबर्जस्ती करणी गरिएको बयान ती महिलाले गत वैशाख १२ मा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका बेला स्वास्थ्यकर्मीहरुलाई बताएकी थिइन् ।

अस्पतालमा हिंसामा परेकी महिलाहरुको उपचार,मनोविमर्श,कानुनी उपचार लगायतको पहलका लागि स्थापना गरिएको एकीकृत संकट व्यवस्थापन केन्द्रमा समेत हिरासतमा रहँदा आफ्नो बलात्कार भएको बयान उनले लेखाएकी थिइन् ।

गत वैशाख १२ मै उनले अस्पतालका स्वास्थ्यकर्मी र एकीकृत संकट व्यवस्थापन केन्द्रमा जानकारी गराए पनि पाँच महिनासम्म कतैबाट छानबिन नभएपछि आफ्ना कानुन व्यवसायी र परिवारका सदस्यहरुमार्फत ती महिलाले गत बिहीबार इलाका प्रहरी कार्यालयका डीएसपी र एकजना असईविरुद्ध जबर्जस्ती करणी मुद्दाको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पठाएकी थिइन् । ती महिला हाल ज्यान मुद्दामा पुर्पक्षका लागि सप्तरी जिल्ला कारागारमा छिन् । प्रहरीले महिलाको उक्त जाहेरी दर्ता गरेको छैन ।

हिरासतमा बलात्कार प्रकरण : झुक्याएर जाहेरी, शंकास्पद अनुसन्धान

प्रहरी अधिकृतविरुद्ध नै जबर्जस्ती करणीको मुद्दा आएपछि उक्त विषय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । समाचारमा आएपछि प्रदेश प्रहरी कार्यालयले घटना छानबिनमा सक्रियता देखाएको हो ।

पतिको मृत्यु भएको ६ महिनापछि कर्तव्य गरि पतिलाई मारेको आरोप लगाउदै नियन्त्रणमा लिइएकी ती महिलाका विरुद्ध दिइएको जाहेरी समेत झुक्याएर लिइएको जाहेरीकर्ताले आरोप लगाएका छन् ।

आफूलाई बिमा रकम नदिनका लागि षडयन्त्र गरेर फसाइएको महिलाको आरोप छ । प्रहरीले भने बिमा रकम हत्याउन कर्तव्य गरि पतिको हत्या गरेको आरोप उनीमाथि लगाएको छ ।

कान्तिपुर दैनिकबाट

Related Posts