मोरङ,। मोरङको उर्लाबारीमा आज बिहान भएको सवारी दुर्घटनामा डाक्टरको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी-४ स्थित ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासकाअनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३-००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठक्कर हुँदा मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि तत्काल उर्लाबारी-३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भएपनि अस्पताल पुर्याएको केही समयपछि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिपर र चालक मेचीनगर नगरपालिका-११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।





