विराटनगर,। ठगी तथा बैंकिङ कसुर मुद्दामा लालबहादुर विश्वकर्मालाई दोषी ठहर गर्ने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरबाट उल्टिाएको छ ।
मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले सुनसरी जिल्ला अदालतको फैसलालाई उल्टाएको हो ।
जिल्लाको फैसलापछि कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले उच्च अदालतबाट न्याय पाएका छन् । जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी मुद्दामा मालिक सरह कैदको फैसला सुनाएको थियो । उच्च अदालतबाट जिल्लाको फैसला उल्टी भएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक परियारको आदेशअनुसार पसलमा काम गर्ने विश्वकर्मालाई सञ्चालकले ठगी गरेको मुद्दामा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँ विगो तिर्नुपर्ने फैसला गरेको थियो ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको मुद्दाको फैसला आाज भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा रहेको सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियार सर्वसाधारणबाट १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ ठगी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले विकलाई पनि दोषी देखाउँदै सञ्चालक सहर नै विगो र कैद सजाय फैसला गरेको थियो ।
जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्माला योङयाको इजलसाले २०७८ पुस १ गते फरार रहेका कमलको मुद्दा मुलतवीमा राख्दै चार जनालाई दोषी ठहर गरेको थियो । लालबहादुर बाहेक अन्यको हकमा ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला सदर भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।





