हमासले शनिबार गरेको हमलामा इजरायलमा ७ जना नेपालीको मृत्यु

काठमाडौँ,। इजरायलमाथि शनिबार भएको हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमासले गरेको आक्रमणमा ७ जना नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै जनसेवा अनलाइनलाई बताए ।

७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरु थप विवरण आएको छैन । हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौँ’, आइतबार दिउँसो जनसेवा अनलाइनसँग ओलीले भने ।

उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई हमासको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।

नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको बताइन् । शनिबार घाइते भएका उनीहरुमध्ये केही आफूहरुको सम्पर्कमा आएर गोली लागेको बताएपनि अहिले भने कुनै सम्पर्क नभएकाले यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

त्यहाँ धेरै मानिस हताहत रहेकाले अवस्था भयावह रहेको भन्दै उनले अहिलेसम्म उद्दार हुन नसकेको बताइन् । उनका अनुसार घाइते ३ जना अस्तालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भएका छन् ।

यस्तै दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् । उनीहरुलाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको रिजालको भनाइ छ ।

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो ।

हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ ।

सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ ।

इजरायलमा भएको सो आक्रमण दशकौंपछिको ठूलो स्केलको रहेको हो । एनआरएनएका पूर्वअध्यक्ष ओलीले पनि आफू इजरायल बस्न थालेको १८ वर्ष भइसकेको तर यसखालको आक्रमण आफूले कहिल्यै थाहा नपाएको बताए ।

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत गएका थिए ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।

यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

मन्त्री साउदले आजै १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने संसदलाई जानकारी गराएका थिए । इजरायलमा भएको यस दुखद घटनालाई नेपाल सरकारले गम्भीरताकासाथ लिएको साउदको भनाइ छ ।

Discussion about this post

Related Posts