कोशी प्रदेशमा दशैंको ६ दिनमा १३५ वटा दुर्घटना हुँदा, १६ जनाको मृत्यु

सुनसरी,। कोशी प्रदेशमा दशैंको ६ दिनमा १३५ वटा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

दशैंको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ । यस्तै, २६५ जना घाइते भए ।

नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार कात्तिक ५ गते फूलपातीदेखि ११ गते कोजाग्रात पूर्णिमाको दिनसम्म १६ जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार १३५ वटा सवारी साधन दुर्घटना हुँदा उक्त संख्यामा मृत्यु भएको हो । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलका अनुसार दसैँमा ६ हजार ६२८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाही गरिएको सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको उनले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ ।

आर्थिक वर्ष २०७९-०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भीर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा कमी आएपनि मृत्यु हुने संख्यामा कमी नआएको प्रहरीले जनाएको छ ।

Related Posts