विराटनगर,। कोशी प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।
कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० ( विनियोजन विधेयक ) माथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।
मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिवद्धता गरेपछि सांसदहरुले खर्च कटौतीको प्रस्ताव फिर्ता लिए । सांसदहरुले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित भएको हो ।
तत्कालिन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए । शनिबार अध्यादेश प्रतिस्थापन विधेयक मार्फत केदार कार्कीले ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए । ५० करोड थप गरेर कार्कीले ल्याएको बजेट पारित भएको हो ।
बजेटमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार विनियोजन गरिएको छ । पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको छ ।
खर्च व्यहोर्ने स्रोतका रुपमा आन्तरिक राजस्व मार्फत ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख,
समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार उल्लेख छ ।