सुनसरी,। नेपाली कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रिय सभाका लागि ७० जनाको नाम सिफारिस गरेको छ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खस आर्य १ (रमेशजंग रायमाझी) र खस आर्य महिला १ जना (बिना पोखरेल)को पदावधि आगामी फागुन २० गते सकिँदैछ ।
सोही पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्र कोशी प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । कांग्रेसले दुई पदका लागि ७० जना उम्मेदवारको नाम सिफारिस गरेको बताएको छ ।
सत्ता गठबन्धनमा भागबण्डा हुँदा एकजना काँग्रेसको र एक जना माओवादीको कोटामा पर्ने बताइरहेको छ । यद्यपि काँग्रेसले भने दुई पदका लागि नै उक्त सङ्ख्यामा उम्मेदवारको नाम सिफारिस गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा आकाङ्क्षी लर्को लागेपछि व्यवस्थापन गर्न समस्या भएको भन्दै सोमबार बसेको कांग्रेसको कोशी प्रदेश समितिको बैठकले यस्तो सिफारिस गरेको हो । स्रोतका अनुसार दलित, अल्पसङ्ख्यक, महिला कोटाबाट नै २२ जना र अन्य कोटाका लागि ४८ जनाको नाम सिफारिस गरेको हो ।
जिल्ला जिल्लाबाट आएका नामहरूलाई प्रदेशले अनुमोदन गरेर पठाएको कांग्रेसका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए । ‘हामीले जिल्लाबाट नाम मगाएका थियौँ,’ राईले भने, ‘जिल्लाबाट सिफारिस भएर आएका नामलाई जस्ताको त्यस्तै पठाएका छौँ ।’
यसमा कृष्णप्रसाद सिटौला र सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको रहेको छ ।
बैठकले ७० जना भन्दा बढीको नाम सिफारिस गरेको नेपाली काँग्रेस राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले पुष्टि गरे ।
चुनावमा पराजय बोकेका नेताहरूलाई राष्ट्रियसभामा लानुहुँदैन भन्ने आवाज काँग्रेस कै नेताहरूले उठाइरहेका बेला कोशी प्रदेशबाट भने गत चुनावमा पराजय भएका नेताहरूलाई प्राथमिकता दिइएको छ । कृष्णप्रसाद सिटौला र सुजाता कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएका थिए ।
यता, माओवादी केन्द्रले पनि महिला कोटामा ७ जना र पुरुष कोटामा ३ जनाको नाम सिफारिस गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पुरुष कोटामा अजम्बर काङमाङ राई, टंक गिरी र भोगेन्द्र यादवको नाम सिफारिस गरेको छ । यस्तै महिला कोटामा लक्ष्मी न्यौपाने, चम्पा कार्की, लता न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायत रहेका छन् ।
एमालेले भने अहिले नै नाम सिफारिस गर्ने विषयमा छलफलको सुरुवात नै नभएको बताएको छ । ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारको विषयमा अहिले छलफलमा नै हामी प्रवेश गरेका छैनौँ,’ एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले भने, ‘समय छ, अहिले हतार किन गर्नु रु ।’
राष्ट्रिय सभामा रिक्त हुने पदहरूको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका अनुसार मङ्सिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचनमा भाग लिने राजनीतिक दलले दर्ता गरिसकेका छन् ।
दलहरूलाई चुनाव चिन्ह प्रदान गरी आयोगले पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका प्रकाशन गरेको छ । माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य गरिने आयोगले यसअघि नै जनाएको थियो ।