घरबाटै खैरो हेरोइनको कारोबार गरेको आरोपमा तामाङ पक्राउ

मोरङ,। मोरङको केराबारीमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार भइरहेको एउटा घरमा आइतबार दिउँसो प्रहरीले छापा हानेको छ ।

केराबारी गाउँपालिका-१० बगैंचास्थित घरमा छापा हानेर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय सुमन तामाङ रहेका छन् । घरबाटै लागूऔषधको किनबेच भइरहेको विशेष सूचनाका आधारमा उनको घरमा प्रहरी पुगेको थियो ।

इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) विकास खत्री नेतृत्वको र कोशी प्रदेश अनुसन्धान समूहबाट खटिएको संयुक्त टोलीले दिउँसो ३ बजेतिर तामाङको घरमा छापा मारेको थियो ।

घरबाट १.४ ग्राम खैरो हेरोइन बरामद भएपछि तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार खैरो हेरोइन, नगद १४ हजार ४ सय ७० रूपैयाँ र २ वटा मोबाइलसहित तामाङलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । तामाङविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

Discussion about this post

Related Posts