सुनसरी,। पछिल्लो समयमा सुनसरी र धनकुटाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै आएको प्रहरीले एम्बुलेन्समार्फत पनि गाँजा तस्करी भएको फेला पारेको छ ।
यसअघि सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटारबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर तस्करी भएको गाँजा बरामद गरेको प्रहरीले एम्बुलेन्सबाट पनि तस्करी भएको गाँजा बरामद गरेको हो ।
प्रहरीले शनिवार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट एम्बुलेन्सामा तस्करी भएको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-८ का ४८ वर्षीय जयदेव चेल रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
एम्बुलेन्समा गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा एम्बुलेन्सभित्र ५२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसअघि भेडेटारबाट इन्धन बोक्ने टयाङ्करको चेम्बरमा लुकाएर ल्याउँदै गरेको करिब ६ क्विन्टल गाँजा प्रहरीले बरामद गरेको थियो ।
Discussion about this post