कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने कांग्रेसको निष्कर्ष

फाइल फोटो

काठमाडौं,। नेपाली कांग्रेसले केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले सो निष्कर्ष निकालेको हो ।

पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न देउवा निवास बुढानिलकण्ठमा दुई उपसभापति, दुई महामन्त्री, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरु भेला भएका थिए ।

सो छलफलमा सहभागी महामन्त्री गगन कुमार थापाले सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ ९५० अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।

‘न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ, न अविश्वासको प्रस्ताव ल्याउन मिल्छ भनेर मुख्यमन्त्री कार्कीले तर्क र दलिल प्रस्तुत गर्नुभयो । हामी सबैको निष्कर्ष पनि त्यही नै रह्यो,’ थापाले भने ।

नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको हो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् ।

त्यसैले कोशीमा एमाले–माओवादीसहितको गठबन्धन सहज अंक गणितमा देखिन्छन् । कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ ९५० अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।

गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको कांग्रेसको निष्कर्ष छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि अहिलेसम्म अर्को सरकारको विकल्प नदेखिएकाले विश्वासको मत फिर्ता लिने र अस्थीरता सिर्जना गर्ने काममा माओवादी केन्द्र नलाग्ने बताउँछन् ।

‘संवैधानिक र कानुनी आधारमा वैकल्पिक सरकार गठन हुने निश्चित हुने भएपछि मात्र हामीले आवश्यक निर्णय लिन्छौं । अहिले नै स्थीरता र अन्यौलता सिर्जना गर्ने भूमिका हामीबाट हुँदैन,’ आङ्बोले भने, ‘अहिलेसम्म मुख्यमन्त्री कार्कीलाई हाम्रो समर्थन कायमै छ ।’

Related Posts