नसीम अन्सारी
भुटाहा,। सुनसरी जिल्लाको पुरानो सदरमुकाम भुटाहा बजारमा सरकारी राष्टिय बाणिज्य बैंकको ६२औं शाखा कार्यालय उदघाटन भएको छ ।
अहिलेको हरिनगर गाउँपालिका-२ स्थित भुटाहामा पहिलो पटक स्थानीय सरकारको पहलमा कोशी प्रदेश अन्तरगत राष्टिय बाणिज्य बैंकको ६२औं शाखा कार्यालय संचालन भएको हो।
भुटाहामा संचालनमा आएको राष्टिय बाणिज्य बैंक शाखा कार्यालयले पहिलो दिन ५ लाखको कारोबार गरेको भुटाहा शाखाका प्रबन्धक मो. अफरोज खानले बताएको हो।
बैंक उदघाटन कार्यक्रमको प्रमुख अथिति एवम् हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष अंसारीले बैंक सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका सर्वसाधारणहरुलाई बैंकको सेवा लिन सहज भएको बताउनुभयो ।
अध्यक्ष अन्सारीले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे ।
अन्सारीले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी स्थानीय तह र बैंकलाई सहयोग गर्नुपर्ने बताए ।
अध्यक्ष अन्सारीले राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर उत्तरदायी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासका लागि बैंकले उपयोगी कदम चाल्दै जानुपर्नेमा समेत जोड दिए ।
उनले सम्पूर्ण पालिका बासीहरुलाई बैंकिङ सेवामा सहज हुनेमा आफु ढुक्क रहेको र सरकारले हरेक स्थानीय तहमा बैंकको शाखा कार्यालय रहने व्यव्स्था गरेकाले त्यसै अनुसार हरिनगरको भुटाहामा बैंकको शाखा कार्यालय खोलिएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय पोलि व्युरो सदस्य महफुज आलम अन्सारीले तीनै तहका सरकारलाई बैंकले प्राथमिकताका साथ वित्तीय सेवा दिइरहेको बताए । उनले सरकारी नीतिलाई सघाउ पुग्ने गरी बैंक अगाडि बढिरहेको बताए ।
बैंक तथा वित्तीय संस्था राज्य व्यवस्थाको स्नायु केन्द्रका रुपमा रहेको चर्चा गर्दै उनले लामो समयदेखि जिल्लाहरुको सदरमुकाममा मात्रै
रहेर बैंकले मात्रै कारोबार गर्दै आएकामा हाल स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार सुरु हुनु सकारात्मक कदम भएको बताए।
अबको युग डिजिटल प्रविधिको प्रयोगतर्फ गइरहेकाले डिजिटल बैंकिङ कारोबारबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै डिजिटल बैंकिङमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेशका प्रमुख दिपकराज न्यौपानेले कोशी प्रदेश अन्तरगत भुटाहामा यो ६२औं शाखा कार्यालय स्थपना गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गर्दै लाने उद्देश्य राखेको जनाउँदै भुटाहाको नयाँ शाखा यहाँका जनतालाई सेवा दिन तल्लीन रहने बताए ।
कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, उपाध्यक्ष रिमझिम भगत, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, भुटाहाका सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका शाखा प्रबन्धक, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।