कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीको रिहापछि पुनः अनशन जारी

इनरुवा, २५ भदौ। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले रिहा गरेपछि पुनः आमरण अनशन जारी राखेका छन् ।

कोशी प्रदेशसभा सचिवालय अगाडि अनशनमा बसेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर मोरङको बूढीगंगा गाउँपालिका-२ स्थित घरमा पुर्याएको थियो । तर, घरमा नबसिकन फर्किएर आएका उनी देवकोटा चोकनजिक अनशन बसेका छन् ।

उनले यसअघिको स्थान फेरेर पुनः अनशन सुरु गरेका हुन् । यसअघि निषेधित क्षेत्रमा अनशन बसेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो । अनशनस्थल फर्किएका कार्कीलाई प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका हुन् ।

अनशनस्थलबाट कार्कीलाई नियन्त्रणमा लिने क्रममा उनका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा लगाइएका स्थानमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, ¥याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइएको हो । सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने रोक लगाइएको थिएन ।

कार्कीको अनशन रोक्नका लागि निषेधित क्षेत्र तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ‘क’ बमोजिम मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा जारी गरेका थिए । तर, सो क्षेत्रमै कार्कीले अनशन बसेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

Related Posts