शिक्षक जिम्मेवार भए सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुन्छ: मेयर कोइराला

विराटनगर,। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–६ बह्रमपुरास्थित धरणीधर आधारभूत विद्यालयको अनुगमन गरेका छन् ।

वडाध्यक्ष हरिशचन्द्र सहनीसहित पुगेका मेयर कोइरालाले शिक्षक र विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिका लागि परेको बताउँदै मेयर कोइरालाले परिणाम देखिने गरी काम गर्न प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिए ।

विद्यालयको भौतिक संरचना निर्माण महानगरले जिम्मा लिने बताउँदै मेयर कोइरालाले शैक्षिक गुणस्तर वृद्धिको जिम्मा शिक्षकहरूले लिनुपर्नेमा जोड दिए ।

तल्लो तहदेखि नै गुणस्तर वृद्धि गर्न सकिए माथिल्लो तहमा नतिजा राम्रो आउने उनको भनाइ थियो । मेयर कोइरालाले प्रअ र शिक्षक जिम्मेवार र इमान्दारीपूर्वक लागिपरे गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे ।

महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान कार्यलाई निरन्तरता दिइरहेको कोइरालाले बताए ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगर लागि परेको उनको भनाइ थियो । वडाध्यक्ष सहनीले सो विद्यालयको भौतिक संरचनासँगै गुणस्तर वृद्धिमा वडा लागि परेको जानकारी दिए ।

विद्यालयमा एक सय ९४ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ खेम निरौलाले जानकारी दिए ।

Related Posts