आजदेखि पाँच दिने धरान उत्सव सुरु

धरान,। धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ ।

शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरू, विद्यालयहरूले सांस्कृतिक झाँकीसहित धरान -१६ स्थित रङ्गशालाको दक्षिणी मैदानमा उत्सव सुरु भएको हो । उत्सवको उदघाटन ज्येष्ठ नागरिक ७७ वर्षीय काजिमान गुरुङले गर्नुभयो ।

उहाँले धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाइ स्वागत तथा धन्यवाद दिनुभएको थियो । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो ।

धरान संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको नगरप्रमुख राईले बताउनुभयो । पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो ।

धरान बहुजाती, बहुभाषी, बहुसंस्कृति रूपमा रहेकाले हरेक कार्यक्रममा विभिन्न जातजातिका झाँकीसहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रूपमा रहेको उपप्रमुख आईन्द्रबिक्रम बेघाले बताउनुभयो ।

धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दैआएको उपप्रमुख बेघाले बताउनुभयो । धरान १२४ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको उपप्रमुख आइन्द्र बेघाले बताउनुभयो ।

धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान उत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२४ औँ वर्ष पुगेको छ । धरान उत्सवमा रोटे पिङ तथा बालबालिकाका लागि मनोरञ्जनको गाडी, नाउहरू राखिएको छ ।

उत्सव उदघाटन समारोहमा धरानलाई उत्कृष्ट कर बुझाउने पाँच जनालाई र सामाजिक क्षेत्रमा योगदान गरेका विभिन्न सङ्घ संस्थालाई समेत सम्मान गरिएको थियो ।

 

Related Posts