नसीम अन्सारी
भुटाहा,। सुनसरीको दक्षिण भेगमा रहेको हरिनगर र देवानगंज गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्न सम्बन्धमा जिल्ला सुरक्षा निकायका प्रमुखहरुसँग हरिनगरका अध्यक्ष हाजी गफार अन्सारीले छलफल गरेका छन् ।
आज सोमबार हरिनगर गाउँपालिकाको कार्यालयमा भएको छलफलमा हरिनगरका अध्यक्ष हाजी गफार अन्सारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड।क्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, इलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी निरीक्षक कमल बिष्ट र हरिनगर पालिका भरिका नेपाल प्रहरी र सशस्त्रहरुका मातहत इकाई प्रमुखहरुसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु सहभागी भएका थिए ।
छलफलमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य, ७ नम्बरका वडा अध्यक्ष मोजमिल खाँ, सरोकारवाला, स्थानीय नागरिकहरु, समाजसेवीहरु लगायत स्थानीय संचारकर्मीहरुले सुनसरीको दक्षिणी भेगमा रहेका विभिन्न समस्याहरुको बारेमा जिल्लाका सुरक्षा प्रमुखहरुसँग आ आफ्नो धारणा राखेका थिए।
सबैको धारणा सुनेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले हरिनगर र देवानगंजका मातहत इकाई प्रमुखहरुसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा वँहाले प्रहरीले प्रदान गर्ने सेवा र सुरक्षा प्रवाहमा आम नागरिकमा प्रहरीप्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध गरी भाईचारा, बन्दुत्व, भातृत्व भाव र अनुशासित तवरले आफ्नो पदिय दायित्व निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो ।
उँहाले नागरीकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सव्य र पिढित मैत्री वातावरणमा रहेर सेवाग्राहीको हितमा ध्यान दिई प्रहरी सेवा प्रदान गर्न जोड दिनु भयो । साथै उहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ(आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान, भारतीय सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, भारतिय काउण्टर पार्टससंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउनका साथै आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भयो ।
त्यसैगरी भर्खरै सरुवा भएर आउनु भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड।क्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले सुरक्षा प्रमुखलाई दक्षिण भेगको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन् । थापाले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।
सिमा क्षेत्रमा विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सुरक्षा निकायलाई चनाखो भएर बस्न निर्देशन समेत दिएका छन् ।
हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष अन्सारीले सुनसरीका दक्षिण भेगका जनताहरुको समस्याका बारेमा तथा समसामयिक विषयमा जानकारी गराएका छन् ।