भोक्राहा नरसिंहका एक जना अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट पक्राउ

इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका एक जना अवैध रूपमा बोकेको अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट पक्राउ परेको छ।

विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय नौसाद अन्सारीलाई पक्राउ गरिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अन्सारीलाई विराटनगर महानगरपालिका-४ स्थित विमानस्थलबाट शुक्रबार राति ८ बजेतिर पक्राउ गरिएको हो।

उनी यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा थिए। प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) श्याम सुवेदी नेतृत्वको टोलीले चेकजाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र अमेरिकी डलर फेला परेको थियो।

उनको साथबाट १ सय दरका ८१ थान डलर बरामद भएको एसपी चिमरियाले बताए। अवैध रूपमा बोकेको अमेरिकी डलरसहित अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अन्सारीले कुन बैंकबाट डलर साटेका हुन् भनेर खुलाउन सकेनन्।

स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको जानकारी चिमरियाले दिए। यति धेरै अमेरिकी डलर बोकेर हिँड्न नेपालमा प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ। यद्यपि, अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन्।

अन्सारीले आफू केही समय अघिसम्म कतारमा बस्ने गरेको बताए। कतारमा बस्ने र नेपाल आउनेजाने गरेको उनको भनाइ छ। उनले मोबाइलमा आफ्नो पासपोर्ट (राहदानी)को फोटो पनि खिचेर राखेका छन्।

अहिले भने साथीको आफन्त बिरामी भएर काठमाडौं जान लागेको बताएका छन्। अवैध रूपमा बोकेको डलरसहित पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको जानकारी एसपी चिमरियाले दिए।

Related Posts