पर्साको नेपाल माध्यमिक विद्यालयका २० जना विद्यार्थी अचानक बेहोस

प्रतिकात्मक तस्विर

वीरगन्ज,। पर्साको कालिकामाईस्थित एक सरकारी विद्यालयका करिब २० जना विद्यार्थी अचानक बेहोस भएका छन् । बिहानको प्रार्थना सकेको एक घण्टा नबित्दै श्री नेपाल माध्यमिक विद्यालयका विद्यार्थी बेहोस भएका हुन् ।

कालिकामाई गाउँपालिका अध्यक्ष वशिष्टकुमार गुप्ताका अनुसार सोमबार बिहान एकाएक विद्यार्थी बेहोस भएका हुन् । उनले भने, ‘स्कुलको प्रार्थना सकेको केही बेरमा विद्यार्थीहरू बेहोस हुन थाले ।’

सुरुमा एक जना विद्यार्थी बेहोस भएको तर केहीबेरमै धमाधम अन्य विद्यार्थी समेत बेहोस हुन थालेको उनले बताए । गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार बेहोस भएकामध्ये एक जना विद्यार्थीको अवस्था गम्भीर छ । गम्भीर अवस्थामा रहेका ती विद्यार्थीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए ।

बाँकी विद्यार्थीको भने पोखरिया अस्पताल र सदरमुकामका अस्पतालमा उपचार गरिएको गाउँपालिका अध्यक्ष गुप्ताको भनाइ छ । ‘मास हिस्ट्रोरिया’का कारण विद्यार्थीहरू बेहोस भएको अस्पतालले जानकारी दिएको गाउँपालिका प्रमुख गुप्ता बताउँछन्।

Related Posts