नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा एसईईको परिक्षा दुई केन्द्रमा र कक्षा ८ का ३ केन्द्रमा संचालन भईरहेको छ।
हरिनगरमा एसईईको सेन्टर श्री बाल कृष्ण माध्यमिक विद्यालय भुटाहामा र हरिनगरा उच्च माध्यमिक विद्यालय हरिनगरा सेन्टरमा एसईईको परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन भईरहेका छन् ।
त्यसैगरी कक्षा ८ का परिक्षा हरिनगर-१ स्थित एभरेस्ट पब्लिक स्कुल भुटाहामा, हरिनगर-४ स्थित श्रीविद्यापति एकेडेमी हरिनगरामा र हरिनगर-५ स्थित श्री बसन्तपुर मावि वसन्तपुरमा बिहान ९ बजेदेखि १२ बजेसम्म परिक्षा संचालन भईरहेको हरिनगर शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालयले जानकारी दिएका छन् ।
हरिनगरका परिक्षा केन्द्रहरुमा एसईई परिक्षा शान्तिपुर्ण रुपमा संचालन भएको छ। आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षा भएको छ।हरिनगरमा रहेका परिक्षा केन्द्रहरुमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा सुरक्षा प्रमुखहरु लगायत स्थानीय सरकारका प्रमुख हाजी गफार अन्सारी तथा शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधि समेतले अनुगमन तथा निरीक्षण गर्नुभएका छन् ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म परिक्षा सञ्चालन हुनेछ ।