इनरुवा,। बिहीबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सुनसरीको दुई वटा परीक्षा केन्द्रका चार जना गार्ड शिक्षकलाई निष्कासन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै गढि गाउपालिका २ मा रहेको सरस्वती मावी औरावनी परिक्षा केन्द्रका दुई जना निजी बिद्यालयबाट परीक्षा केन्द्रमा खटिएका शिक्षकलाई निष्कासन गरिएको हो ।
त्यस्तै दुहबी वडा न-५ मा रहेको सरस्वती मावी दुहबी परिक्षा केन्द्रबाट दुई जना शिक्षकलाई परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको आरोपमा निष्कासन गरिएको हो । उनीहरुले निजी बिद्यालयबाट १० हजार दरले बिद्यार्थीहरु पास गराउने पैसा लिएको स्वयं गार्ड शिक्षकले अनुगमन खटेका प्रजिअ अगाडि कवुल गरेका थिए ।
उनीहरुलाई परिक्षा केन्द्रबाटै निष्कासन गरिएको प्रजिअ मिश्रले बताए । निष्कासन गरिएको स्थानमा आगामि परिक्षादेखि अर्को शिक्षक गार्ड राखि परीक्षा सञ्चालन गर्ने प्रजिअ मिश्रले स्पष्ट पारे ।
सरस्वती मावी दुहबीका केन्द्राध्यक्ष तेज प्रसाद तिमिल्सिना र कर्मचारी सजिप गुप्तालाई एकपटकको लागि सचेत समेत गराएको छ । सुनसरीको परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा शुक्रवारको परीक्षा सम्पन्न भएको उनले बताए ।
सुनसरीबाट मात्रै १३ हजार ६ सय ६३ बिद्यार्थी परिक्षा दिदै छन । अनुगमन टोलिमा जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन तिम्सिना , सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेना प्रमुख, ईप्रका दुहबी प्रमुख र स्थानीय संचारकर्मीहरुसमेत रहेका थिए ।