सुनसरी,। गत पुस १६ गते इटहरी उपमहानगर अघि, बूढीखोला र धरानको भोटेपुल नजिकै बम राखेको भन्दै हल्ला फैलाउने दुई जनालाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१ का ४७ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल र इटहरी-४ की ३६ वर्षीया लक्ष्मीदेवी थापा छन् । उक्त घटनामा संलग्नलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार ९८१४३४७२९० मोबाइल नम्बरबाट म्यासेज गरी बम रहेको भन्दै प्रहरीलाई सूचना दिएका थिए ।
खोजी गर्ने क्रममा प्रहरीले तीन महिनापछि फेला पारेर नियन्त्रणमा लिएको हो । बम राखेर सर्वसाधारणलाई आतंक फैलाएर फरार रहेका दुवै जनालाई सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।
‘पक्राउ परेका खरेल सुनसरी प्रहरीको अभिलेखमा दोस्रोपटक पक्राउ परेका व्यक्ति हुन्,’ एसपी तिम्सिनाले भने, ‘पक्राउ परेका व्यक्ति पटकपटक जेल सजाय काटेर आएका व्यक्ति हुन् ।’ पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप भएको छ ।
‘घटनामा संलग्नमाथि थप अनुसन्धान भइरहेको छ,’ एसपी तिम्सिना भन्छन्, ‘पक्राउ परेकाहरू यसअघि पनि जेल सजायबाट निस्किएको र सोही प्रकृतिको घटनामा संलग्न भएको पुष्टि भएको छ । यद्यपि, थप अनुसन्धान भइरहेको छ ।’
खासगरी प्रहरीले खरेललाई यसअघि पनि बिष्फोटक पदार्थकै प्रयोगमा पक्राउ गरेको थियो । खासगरी खरेल २०७६ वैशाख २८ गते गोरखा जनमुक्ति पार्टीको नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट उनी छुटेका थिए ।
२०७८ माघ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसर कुकर बम राखेको घटनामा उनी पक्राउ परेका थिए । बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरुकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको थियो ।
जेलबाट छुटे लगत्तै खरेलले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसिसी खारेजको माग राख्दै प्रचार सामाग्री बनाएर आपराधिक गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।





