काठमाडौँ,। भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भारत सरकारको अनुदान सहयोगमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च विकास परियोजनाको निर्माण गर्न यो सम्झौता भएको बताइएको छ । उक्त परियोजनाको निर्माण अनुमानित लागत १७ करोड रहेको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
जस अन्तर्गत शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको भवन निर्माण, व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको भवन निर्माण र त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्ने दूतावासले जनाएको छ ।
यी परियोजनाले स्थानीयको शिक्षा र खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउनुका साथै जीवनस्तरमा सुधार ल्याउने दूतावासले उल्लेख गरेको छ ।





