भुटाहा,। सुनसरीको बर्जु गाउँपालिका-६ तिनमुहास्थित बूढी खोलामा मूर्ति विसर्जन गर्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।
विश्वकर्मा पूजा सकिएपछि बिहीवार दिउँसो मुर्ति विसर्जन गर्न गएका बर्जु-१, गेलाहावारीका २० वर्षीय विशेश्वर कुमार यादवको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यादव आफ्ना साथीहरूसँग खोलामा मुर्ति विसर्जन गर्न गएका थिए। विसर्जनका क्रममा उनी खोलाको तीव्र प्रवाहमा परेपछि बेपत्ता भएका थिए। स्थानीयवासीले तत्काल उद्धारको प्रयास गरे पनि खोलाको पानी धमिलो र बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भएको थियो।
घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख, प्रहरी निरीक्षक कमल विष्ट नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा यादवको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।





