सुनसरी,। नेपाली काँग्रेसले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ ।तत्काल क्षेत्रीय समितिको बैठकले जिल्ला समितिलाई प्रतिनिधिसभा सदस्यका आकाङ्क्षी उम्मेदवारको नाम पठाइरहेको छ ।
बुधबार अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसकेको छ । सुनसरी क्षेत्र नम्बर-४ मा भने ज्ञानेन्द्र बहादुर कार्की निकट केही नेता तथा कार्यकर्ताले क्षेत्रीय समितिमै हस्तक्षेप गरेर निर्णय प्रक्रियामा अवरोध गरेका छन् ।
क्षेत्रीय समितिको बैठकमा एकल नाम सिफारिस गराउन केही नेता तथा कार्यकर्ताले दबाब दिँदै अन्य आकाङ्क्षीको नाम उल्लेख नगर्न अडान राखे । एकल नाम सिफारिस भए टिकट पक्का हुने बुझेका कार्की राजनीतिको उत्तरार्धमा थप विवादित बन्दै गएका छन् ।
दुई कार्यकाल सुनसरी क्षेत्र नम्बर ४ बाट जितेका कार्की मन्त्री समेत भए तापनि इनरुवा, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिका कुनै काम नगरेको भन्ने विभिन्न आरोप स्थानीयवासीहरुले लगाउने गरेका छन्।
उनै कार्की पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने दाउमा छन् । विगतमा दुई पटक जितेर मन्त्री भइसकेका उनी २०७९ को निर्वाचनमा नेकपा एमाले उम्मेदवार जगदीश प्रसाद कुशियैतसँग ११२ मतले मात्रै जितेका हुन ।
तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरूसँग काँग्रेसले गठबन्धन गर्दा समेत ११२ मतले जितेका कार्कीले पुनः उम्मेदवार बन्ने महत्त्वाकाङ्क्षा राखेका छन् । यसपालि काँग्रेसका क्रियाशील सदस्यले समेत भोट नहालने कार्कीलाई पार्टी भित्रै उम्मेदवार नबनाउन दबाब बढेको छ ।
पार्टीका नेता तथा कार्यकर्ताले कार्कीको नाम सर्वसम्मत गए आपत्ति जनाउने तर टिकट पाए भोट माग्न नजाने अडान लिएका छन् । पराजित हुने पक्का हुँदाहुँदै पुनः कार्कीलाई टिकट दिनु पार्टीका कार्यकर्ताको अपमान भएको उनीहरू बताउँछन् ।
इनरुवा, भोक्राहा नरसिंह, कोशी र हरिनगरका काँग्रेस नेता तथा कार्याकर्ताले भने, ‘जेनजी आन्दोलनले नयाँ र युवालाई उम्मेदवार बनाएर पार्टी र देशलाई नै नयाँ तरिकाले चलाउनुपर्ने सन्देश दिएको छ । एउटै व्यक्ती बारम्बार पदमा पुग्ने तर उपलब्धि केही नहुने भएकाले जनताले आक्रोश व्यक्त गर्दै छन् ।
सुनसरी क्षेत्र नम्बर ४ का स्थानीय नेताको भावना विपरीत काँग्रेस अगाडी बढ्यो भने काँग्रेसले नागरिकको साथ गुमाउँछ । त्यसमा सचेत हुनुपर्छ ।’





