काठमाडौं,। नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले देशका निर्णायक ठाउँमा युवाको भूमिकाबीना वास्तविक परिवर्तन सम्भव छैन भनेको छ।
मुलुकमा दिगो परिवर्तनका लागि युवाको निर्णायक भूमिका अपरिहार्य रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले परिवर्तन कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै त्यसका लागि सामूहिक साथ, सहयोग र विश्वास आवश्यक हुने उल्लेख गरेका हुन्।
डा. अन्सारीले आफू “म युवा एक्लै सबै गर्छु” भन्ने भ्रममा नरहेको स्पष्ट पार्दै परिवर्तनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए। “म सबैको साथ र सहयोग लिएर अघि बढ्ने कोसिस गर्नेछु,” उनले भनेका छन्। उनले विश्वासले नै अवसर सिर्जना गर्ने र प्राप्त अवसरलाई आफ्नो जिल्ला तथा देशको हितमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उनका अनुसार मुलुकभित्रको राजनीतिक अंकगणित, शक्ति सन्तुलन र व्यवस्थापन, भू-राजनीतिक शक्ति सन्तुलनको संरक्षण तथा अमेरिका, भारत, चीन र पश्चिमा मुलुकहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्नु आजको प्रमुख आवश्यकता हो। साथै, मिडिया मेनुपुलेसनको गहिरो विश्लेषण, नयाँ र युवा पुस्ताको विश्वास आर्जन तथा राज्य सञ्चालनमा युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्नु अपरिहार्य रहेको उनले बताए।
डा. अन्सारीले भ्रष्टाचारविरुद्ध निर्मम कारबाहीको आवश्यकता औंल्याउँदै ठूला भ्रष्टाचारीहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे। “जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन कायम गर्नु आज हामी सबैको प्रमुख दायित्व हो,” उनले उल्लेख गरेका छन्।
आगामी निर्वाचनतर्फ संकेत गर्दै उनले दलहरू फेरि नाराको भीड लिएर मैदानमा आउन थालेको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार दलहरूले युवाको नाम त लिन्छन्, तर युवाका वास्तविक समस्या सुन्दैनन्। “आजको नेपालमा युवा हुनु भनेको योग्य भएर पनि अवसर नपाउनु, देशमै केही गर्न खोज्दा हतोत्साहित हुनु र अन्ततः विदेश जान बाध्य हुनु हो,” उनले भने। यो अवस्था युवाको कमजोरी नभई राज्य र नेतृत्वको असफलता भएको उनको ठहर छ।
उनले आगामी चुनावमा युवालाई भोट बैंकका रूपमा होइन, देशको भविष्यका रूपमा हेर्नुपर्नेमा जोड दिए। युवालाई नेपालमै रोजगारी, उद्यमशीलताका लागि पूँजी, सीप विकासका अवसर र नवप्रवर्तनलाई सम्मान गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै उनले भाषण र घोषणापत्रमा सीमित “युवा” शब्दभन्दा व्यवहारमा देखिने परिवर्तन आवश्यक भएको बताए।
“यदि यो चुनाव पनि युवाको सपना बेवास्ता गर्दै बित्यो भने युवाको निराशा अझ गहिरिनेछ,” चेतावनी दिँदै डा। अन्सारीले भने, “निराश युवा सधैं मौन बस्दैन-इतिहासले यही देखाएको छ।” उनका अनुसार अबको चुनाव सत्ता परिवर्तन मात्र नभई युवालाई नेपालमै भविष्य देखाउने अवसर बन्नुपर्छ।





