इनरुवा,। सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध प्रकाशित भएको भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
अध्यक्ष अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल फेसबुकमा Brahamdev Mahato नामको आइडीबाट मिति २०८१ फागुन २९ गते आफूलाई जोडेर तथ्यहीन, भ्रामक तथा अपुष्ट आरोपसहित सामग्री प्रकाशित गरिएको उल्लेख गरिएको छ। उक्त सामग्रीले हरिनगर गाउँपालिका क्षेत्रभित्रको सामाजिक एकता तथा धार्मिक सहिष्णुतामा समेत खलल पुग्ने खालको विषयवस्तु प्रस्तुत गरेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार सो सामग्रीमा लगाइएका आरोपहरू पूर्णरूपमा असत्य, आधारहीन तथा कपोकल्पित रहेको स्पष्ट पारिएको छ। कुनै पनि तथ्य र प्रमाणबिना सार्वजनिक पदमा रहेका व्यक्तिको प्रतिष्ठामा आँच आउने गरी सामग्री प्रकाशन तथा प्रसारण गर्नु गैरजिम्मेवार र पत्रकारिताको आचारसंहिताविपरीत हुने अध्यक्ष अन्सारीको भनाइ छ।
त्यस्ता सामग्रीले समाजमा वर्षौँदेखि कायम रहेको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा असर पुग्ने तथा द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने भएकाले सबै पक्ष सजग हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
अध्यक्ष अन्सारीले प्रकाशित सामग्रीका कारण सम्बन्धित व्यक्तिले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ बमोजिमको कसुर गरेको देखिएको पनि बताएका छन्।
हरिनगर गाउँपालिका सधैँ पारदर्शिता, सुशासन र विधिको शासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा कसैसँग कुनै विषयमा तथ्य र प्रमाण भए कानुनी प्रक्रियामार्फत सम्बन्धित निकायमा प्रस्तुत गर्न आग्रह गरिएको छ।
साथै, तथ्य र प्रमाणबिना लगाइएका भ्रामक आरोपका कारण आफ्नो व्यक्तिगत तथा सार्वजनिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको भन्दै यस विषयमा सम्बन्धित निकायमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अध्यक्ष अन्सारीले जानकारी दिएका छन्।
विज्ञप्तिमा सबै सञ्चार माध्यम तथा सरोकारवाला पक्षलाई सत्य, तथ्य र प्रमाणमा आधारित भएर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न र भ्रामक प्रचारप्रसारबाट टाढा रहन आग्रह गरिएको छ।






