कानुन निर्माता सांसदकै शैक्षिक प्रमाणपत्र नक्कली?, सांसद सुनील शर्मासहित ५ पक्राउ

भारतको बिहारबाट आईएस्सीको नक्कली प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरेको कसुर

मकर श्रेष्ठ काठमाडौँ,। प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को शैक्षिक प्रमाणपत्र नै नक्कली भेटिएको भन्दै प्रहरीले कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार काठमाडौंको गोल्फुटारबाट नियन्त्रणमा लिएको हो । उस्तै कसुरमा अरू चार जना पनि समातिएका छन् ।

काठमाडौं मेडिकल कलेज (सिनामंगल) र नोबेल मेडिकल कलेज (विराटनगर) का सञ्चालकसमेत रहेका शर्मा मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभामा सदस्य हुन् । प्रहरीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि भारतको बिहारस्थित फारबेसगन्ज (अररिया) को बीडीबीकेएस कलेजबाट आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए । सीआईबी, मेडिकल काउन्सिल र राष्ट्रिय परीक्षा बोर्डको संयुक्त टोलीले २०७२ सालमा गरेको छानबिनमा उक्त प्रमाणपत्र नक्कली पाइएको प्रहरीले जनाएको छ ।

शर्माको प्रमाणपत्रअनुसार उनले सन् १९९४ देखि १९९६ सम्म आईएस्सी अध्ययन गरेका थिए । प्रमाणपत्रमा ७ सय २२ अंक प्राप्त गरी प्रथम श्रेणीमा उत्तीर्ण भएको देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले दुई वर्षअघि पनि शर्माको सर्टिफिकेट प्रमाणीकरण बुझ्न ‘बिहार स्कुल एग्जामिनेसन’ मा टोली पठाएको थियो । त्यति बेला शर्माको प्रमाणपत्र रेकर्डमा भेटिएको थिएन । शर्माले एमबीबीएस भने चीनमा पढेका हुन् ।

सीआईबीले २०७२ माघदेखि २०७३ भदौ २६ सम्म ‘अपरेसन क्वाक’ चलाएर नक्कली सर्टिफिकेटका आधारमा एमबीबीएस अध्ययन गरेका ५९ डाक्टरलाई नेपाल मेडिकल काउन्सिलको सहयोगमा पक्राउ गरेको थियो ।

त्यति बेला सीआईबी प्रमुखमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल थिए । उक्त अपरेसनका बेला १ सय ९ जनाको सर्टिफिकेट नक्कली पाइएकामा शर्मा पनि प्रहरीको खोजी सूचीमा थिए । तर, उनी त्यति बेला प्रहरीको अपरेसनबाट बच्न जापान भागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उनका अनुसार आफूलाई अनुकूल हुने गरी प्रहरी प्रमुख फेरिएपछि मात्रै शर्मा जापानबाट फर्किएका थिए ।

राजनीतिक दलका नेताले संरक्षण गरेकै कारण नक्कली सर्टिफिकेट काण्डमा शर्मा अहिलेसम्म जोगिएको प्रहरीका अर्का एक अधिकारीले बताए । ‘अहिले फेरि फाइल खोलेर नक्कली सर्टिफिकेटसम्बन्धी फक्सट्रोट चार्ली अपरेसन चलाएका बेला उनी पक्राउ परेका हुन्,’ उनले भने ।

शर्मा पक्राउ परेको विषयमा सीआईबीले बिहीबार नै संसद् सचिवालयलाई जानकारी गराएको छ । सचिवालयलाई पठाइएको पत्रमा शर्माले मेडिकल काउन्सिलमा पेस गरेको आईएस्सीको प्रमाणपत्र नक्कली पाइएको उल्लेख छ । बहालवाला सांसदलाई फौजदारी कसुरमा पक्राउ गरेपछि तत्काल सभामुखलाई जानकारी दिनुपर्ने प्रावधान संविधानको धारा १०३ मा छ ।

प्रहरीले आफूमाथि फेरि अनुसन्धान थालेको सुइँको पाएपछि शर्माले क्विन्टल सुन तस्करी प्रकरणलाई जोडेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गर्दै आएका थिए ।

साउन १० को प्रतिनिधिसभा बैठकमा उनले सुन प्रकरणका मुख्य अभियुक्त पक्राउ नगरेमा संसद्मै अनशन बस्ने चेतावनीसमेत दिएका थिए । केही दिनअघि उनी दुबईसमेत पुगेका थिए । प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भए पनि उनले संसद् भवन बाहिर अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग दोहोर्‍याएका थिए भने सुन प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागलाई समर्थन जनाएका थिए ।

शर्मा ०७४ निर्वाचनमा एमाले नेता भानुभक्त ढकालसँग पराजित भएका थिए । यस पटक उनै ढकाललाई पराजित गरेर उनी संसद् प्रवेश गरेका हुन् । शर्मा मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कलगायत विषयमा विवादमा पर्दै आएका थिए ।

सीआईबीले विशेष अपरेसनका क्रममा रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरीलाई पनि पक्राउ गरेको छ । ‘अपरेसन क्वाक’ का क्रममा ७ वर्षअघि पक्राउ परेका मध्ये अधिकांशले अदालतबाट सफाइ पाइसकेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । केहीलाई भने ३ महिना जेल र ३० हजार रुपैयाँसम्म जरिवाना भएको थियो ।

सरकारी जागिर प्रवेश गरेकालाई भने लिएको तलबभत्ता फिर्ता गर्नुपर्ने आदेश अदालतले दिएको थियो । ‘प्रहरीले नक्कली सर्टिफिकेटमा मुद्दा चलाउनुपर्नेमा ठगी मुद्दा चलाएपछि विगतमा धेरैले उन्मुक्ति पाएका थिए,’ काउन्सिलका एक सदस्यले भने । उनका अनुसार त्यति बेला काउन्सिलको परीक्षामा ५ पटकभन्दा बढी फेल हुने चिकित्सकमाथि छानबिन गर्दा धेरैजसोको प्रमाणपत्र नक्कली पाइएको थियो ।

शर्मा पक्राउ परेपछि फौजदारी अभियोगमा मुछिएका सांसदको संख्या चार पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सांसद टोपबहादुर रायमाझी, सुरक्षाकर्मीको हत्या अभियोगमा एमालेकै सांसद लक्ष्मी महतो कोइरी, भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद टेकबहादुर गुरुङ यसअघि नै निलम्बनमा परिसकेका छन् । कोइरी अझै फरार छन् । मुद्दा अदालतमा पेस भएपछि पुर्पक्षका लागि थुनामा पठाइए शर्मा पनि स्वतः निलम्बनमा पर्नेछन् ।  सभार :- कान्तिपुर दैनिकबाट

 

Related Posts