प्रदेशसभाको अध्यक्षता सांसद मन्सुरीले गर्ने, मुख्यमन्त्री थापालाई विश्वासको मत दिने

इनरुवा,। कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् ।

उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि उनले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेकी थिइन् ।सत्तारुढ गठबन्धनले भने मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।

कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले मन्सुरीले मतदान गर्ने र मुख्यमन्त्री थापाले विश्वासको मत पाउने लाई बताए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले पनि प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको र आइतबार सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको छ ।

प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने मत पनि छ । तर सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो ।

Related Posts