काठमाडौं,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। शुक्रबार साँझ सिंहदरबारस्थित कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनका अनुसार समर्थक, प्रस्तावक र उम्मेदवार पुग्ने समितिमा उम्मेदवारी दिने तयारी पार्टीले गरेको हो। जसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले भागबन्डा गरेका छन्, त्यसमा हाम्रो सैद्धान्तिक विमति हो, परियारले भने, त्यसैले केही समितिका सभापतिमा हामी उम्मेदवारी दिन्छौं।
संसदीय समितिका सभापतिहरू छान्न आगामी भदौ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।
दलहरूबीच नेपाली कांग्रेसले चार, नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी ले १र१ समितिको सभापति पाउने गरी सहमति भएको छ।
सभापतिहरू निर्वाचित नहुँदा संसदका ११ समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका छन्।





