सुनसरी पछिल्लो समय लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै

नसीम अन्सारी
इनरुवा,। सुनसरी पछिल्लो समय लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। लागूऔषधका कारोबारीहरुले सञ्जाल नै स्थापना गरेर सुनसरीमा निष्फिक्री कारोबार चलाइरहेका छन्।

प्रहरीले आक्लझुक्कल विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरुको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो।लागूऔषध सुनसरीको सिमानाका हुँदै विभिन्न ठाउँमा पुग्ने गरेको छ।

भारतसितको लामो र खुला साँध, सबैतिर सुरक्षादृष्टि पुर्याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरुमा हुने खुलमखुला बेचबिखन लगायतका कारणले सुनसरी लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ।

पछिल्लो समय सुनसरीको खुल्ला सिमानाका लौकही एरियाबाट इनरुवा, इटहरी, धरान, उदयपुर, धनकुटा, तेह्रथुम तथा पश्चिममा सप्तरी, सिराहा लगाएत नेपालको राजधानी काठमाडौं सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।

लागूऔषधकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका गैरसरकारी अभियन्ताहरु पनि सुनसरी हुँदै अन्यत्र ओासरपसार हुने लागूऔषध र कारोबारी संख्या धेरै भएको बताउँछन्। सुनसरीमा प्रयोगकर्ताहरु पहिलेभन्दा धेरै घटेका छन् तर, सुनसरीमै धेरै कारोबारी पनि छन्। यसको अर्थ हाम्रो जिल्ला ट्रान्जिटका रुपमा बढी प्रयोग भइरहेको छ।

प्रहरीका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत् भइरहेको यस्तो कारोबार प्रहरीले दुई-चार जना कारोबारी समात्दैमा भत्काउन कठिन छ।

लगूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट सुनसरी हुने गरेको छ। सुनसरी प्रहरीले केही समयको फरकमा कारोबारीहरु समात्न थालेको लामो समय बितेको छ। तर, कारोबारीहरुको सक्रियता पटक्कै घटेको छैन। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरु नै बताउँछन्।

डिएसपी योगराज खतिवडाका अनुसार भारतीय सीमावर्ती बजार बस्मतियाको बेलामा लागू औषधको कारोबार हुने गरेको छ। भन्छन्, भारत-नेपालको सीमामा त्यहींबाट कारोबार चलाउनेहरु सक्रिय छन्।

भारतीय प्रहरीलाई कारबाही गर्न हामीले धेरैपटक भन्यौं तर सुनवाई भएन। भारतीय बजारमा यही सहजताका कारण कारोबारीहरु उत्साहित बन्ने गरेका छन्।

मंगलबार मात्रै लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका(१ स्थित भन्सार कार्यालय अगाडी भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्ति शंकास्पद लागेपछि प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गर्यो।

डिएसपी खतिवडाका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ निवासी २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का २० वर्षीय अनोज कुमार उँराव, भोक्राहा-३ का २५ वर्षीय रुपेश कुमार यादव, इटहरी उपमहानगरपालिका-१७ का २० वर्षीय मो. समीर खान र सोही ठाउँका २० वर्षीय राजेश पुरी रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका बास्तोलाको साथबाट १.८४ ग्राम ब्राउनसुगर, उँरावको साथबाट १.२० ग्राम ब्राउनसुगर, खानको साथबाट ५.११ ग्राम ब्राउनसुगर, यादवको साथबाट १.५१ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

त्यसैगरी लागूऔषधसहित पक्राउ पर्ने यी ५ जना पछिल्लो श्रृंखलाका पात्र मात्रै हुन्। यसरी महिनैपिच्छे पक्राउ पर्नेको संख्या जिल्लामा उल्लेख्य छ। तर, कारोबार घट्नुको साटो बढिरहेको छ।

अनुसन्धानका क्रममा खुल्यो, लागूऔषध कारोबार गर्न भारती व्यक्तिहरुले नेपाली सहयोगीको माध्यमबाट सुनसरीमा धन्धा चलाइरहेका छन्।

भारतीय कारोबारीलाई बाटो देखाउने, पाटी मिलाइदिने काम नेपाली एजेन्टले गरेको देखिन्छ,ु प्रहरीले भने, यो रिले दौड जस्तो हुनेरहेछ। भारतीय बजारबाट एउटा समूहले, सिमानाका काटाउनेदेखि भन्ने अर्को समूहले नेपाली बजारसम्म ओसार्ने रहेछ।

लागूऔषध भारतीय कारोबारीले नेपाली बजारमा सहजै उपलब्ध नहुने लागूऔषधका लागि प्रयोगकर्ताहरु महँगै दाम हाल्न पनि राजी हुने गरेका कारण कारोबारीहरु राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोबार चलाइरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो समय लागूऔषध ओसार पसार हुने सिमानाकाहरुमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रुपमा प्रहरी टोली परिचालन गरेर अपरेशन चलाएपछि दैनिक लागूऔषध सेवन गर्न र कारोबारी पक्राउ परिरहेका छन् ।

Related Posts