इनरुवा,। सुनसरीको धरानबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिका वडा नं-१५ शितल मार्गस्थित विरश थापाको घरमा कोठाभाडामा बस्ने ३ युवकले लागूऔषध करोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट प्रहरी टोलीले निजहरूको कोठामा कानुन बमोजिम खानतलासी गर्दा लुकाई छुपाई राखेको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा भोजपुर घर भई धरानमा बस्दै आएका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राई रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामाडोल चार हजार नौ सय ३५ क्याप्सुल, कोलिवान पाँच हजार ६० चक्की, स्पास्पे ९४ चक्की, डिकोलिक २० चक्की, नाइट्राजेम्प एक सय ९० चक्की, एरोमिन्क १६ चक्की बरामद गरिएको छ ।
साथै, १.७६ ग्राम ब्राउनसुगरसमेत फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।